यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्रिशुली अस्पताललाई पानी शुद्धिकरण गर्ने उपकरण उपलब्ध गराएको छ ।
सहकारीले वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने तथा मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई उक्त शुद्धीकरण उपकरण हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला अधिकारी ढकालले सहकारीमा अध्यक्ष को बन्ने भन्ने होडबाजी भन्दा पनि सहकारीका अवधराणालाई आत्मसात गर्दै स्थानीयस्तरमा सहकारीले उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्ने बताउनुभयो । राजधानीका अस्पताल सरह नै सुविधा पाउने जिल्ला अस्पताललाई थप सुविधा सम्पन्न बनाउनको लागि आम नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका बिरामीहरुको लागि शुद्ध खानेपानी पिलाउने उद्देश्य अनुरुप सहकारीले वार्षिकोत्सवको अवसरमा उक्त सामग्री प्रदान गरिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पताललाई करिब ३२ हजार बराबरको पानी शुद्धीकरण गर्ने उपकरण प्रदान गरिएको बताउनुभयो।
अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले शुद्धीकरण उपकरणले बिरामीहरुमा सुविधा थप टेवा पुग्ने बताउनुभयो । उनले अस्पताललाई शुद्धिकरण उपकरण हस्तान्तरण गरेकोमा सहकारीलाई अभार व्यक्त गर्नुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले नाफा कमाउने व्यवसाय मात्र नभई कमाएको नाफा मध्ये केही प्रतिशत समाजिक कार्यमा सहकारीले लगाउनु पर्ने बताउनुभयो ।
यसअघि सहकारीले बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर पनि उपलब्ध गराएको थियो ।
यस सहकारीले सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आईरहेको छ ।